Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आत्मालोचना गरेर जनतातिर फर्केका छौंः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी एक ढिक्का रहेको बताएका छन् । आज मंगलबार पार्टीको म्याग्दी जिल्ला समन्वय समितिले बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘माओवादी अहिले एक ढिक्का छ । कहिलेकाहीँ पत्रिका, रेडियो, टेलिभिजनतिर के–के देख्नु हुन्छ होला । तर, कुरा त्यस्तो होइन, माओवादी एक ढिक्का छ,’ उनले भने, ‘बरु माओवादी जति एक ठाउँ ल्याउँछौं । चाँडै ल्याउँछौँ ।’यस्तै उनले हिजो माओवादी जङ्गलमा नभएर जनताको काखमा रहेको बताए ।

WhatsApp Image 2025-02-04 at 15.13.56_b8d49254.jpg

‘२०६४ सालमा सरकारको अनुभव थिएन, अहिले त धेरै सरकारको अनुभव छ । आत्मविश्वास छ । नेपालबाट भ्रष्टाचारको जरा उखेलेर फाल्नेछौं । तपाईंहरूले ०६४ जस्तै, अझ त्योभन्दा बढी मत दिनुस्,’ उनले भने, ‘हिजो हामी जङ्गलमा होइन, जनताको काखमा थियौं ।’ उनले आफूहरू फेरि एकपटक आत्मालोचना गरेर जनतामा फर्केको बताए।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जालझेल र ढाँटछल अरु कसैले गर्न नसक्ने आरोप लगाए। उनले ओली संविधानविपरीत प्रधानमन्त्री बनेको आरोप लगाए । आफूले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएको प्रचण्डले दाबी गरे ।

prachanda-myagdi2025-02-04-15-19-02.png

उनले भने, ‘यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । तपाईंहरुले सुन्नु भएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त? देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला ।’ प्रचण्डले बाहिर कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि बिचौलिया र दलालहरुले बनाएको आरोप लगाए । उनले भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि कांग्रेस–एमालेका ठूला नेताहरु पर्ने देखेपछि रातारात मिलेको दाबी गरे ।