Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

गठबन्धन सरकारप्रति अविश्वास गर्नुपर्ने कुनै कारण नै छैनः सभापति देउवा

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारप्रति अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको बताएका छन् । पोखरामा ७७ जिल्लाका पार्टी सभापतिहरूको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो कुरा बताएका हुन् ।

उनले देशको राजनीतिक स्थायित्वका लागि प्रतिस्पर्धी पार्टीसँग मिलेको बताएका छन् । सभापति देउवाले हालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग अविश्वास गर्नुपर्ने कुनै कारण नरहेको पनि बताए । सभापति देउवाले भने, ‘वास्तवमा भन्ने हो भने ओली र म सँगै जेलमा बसेको साथी हौं । धेरै दुःख कष्ट थियो, छुट्ने सम्भावना हुँदैनथ्यो । झापा काण्डको कारण देखाएर जेलभित्रको पनि जेलमा राखियो । हामी मुख्य प्रतिस्पर्धी हौँ । तर पनि केपी ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन ।’


अहिलेको संविधान अनुसार एउटा पार्टीको बहुमत आउन नसक्ने भए पनि कुनै न कुनै दलसँग मिल्नु पर्ने बताए । पहिलेदेखि नै दुई वटा पार्टीहरू प्रजातन्त्र र लोकतन्त्रका लागि लडेको हुनाले विश्वासका साथ चल्नुपर्ने उनले सुनाए । सरकारमा कांग्रेस एमालेको गठबन्धन स्थायित्वका लागि भएको देउवाको दाबी छ । उनले नेपाली कांग्रेसबीच एकता हुन सके आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने बताए ।

उनले भने, ‘मुख्य प्रतिस्पर्धी पार्टीसँग मिलेको हुनाले केही असहमति आउन सक्छन् । केही समस्या आउन सक्छन् । त्यो समस्या समाधान गर्नुपर्ने आवश्यक छ । स्थिरता भयो भने नेपालको विकास अझै हुनसक्छ । अहिले हुनुपर्ने जति विकास हुन सकेको छैन ।’ उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ७७ जिल्ला सभापतिहरू र प्रशिक्षण शाखा प्रमुखहरूलाई प्रशिक्षण दिने व्यवस्था गरेको हो ।