Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पार्टी एकढिक्का भए कांग्रेसले यहि प्रणालीमा पनि बहुमत ल्याउन सक्छः देउवा

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकढिक्का भए एकल बहुमत ल्याउन सक्ने दावी गरेका छन् । पोखरामा आयोजित कांग्रेसको ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रम उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले यही निर्वाचन प्रणालीमा पनि बहुमत ल्याउन सकिने बताए । त्यसका लागि पार्टीका सबै नेताबीच एकता हुनुपर्ने तथा पार्टीलाई एकढिक्का बनाउनुपर्ने सभापति देउवाको भनाइ छ । संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै कतिपय नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् ।


तर, पोखरामा पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम उद्घाटन कार्यक्रममा देउवाले सहज नभए पनि असम्भव नभएको बताए । सभापति देउवाले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेताहरू लागे पार्टीलाई बहुमत दिलाउन सकिने दोहोर्‍याए । बिपी कोइराला, गणेशमानसिंह श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला जस्ता नेताले सुम्पिएको जिम्मेवारी अहिलेको नेतृत्वको काधमा आएको भन्दै देउवाले त्यो जिम्मेवारी पूरा गर्नका लागि पनि पार्टीभित्र एकता जरुरी रहेको बताए ।