Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको लगातार तेस्रो हार

घरेलु मैदानमा जारी नेपाली महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली टिमले लगातार तेस्रो हार बेहोरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्ससँग १५ रनको हार बेहोरेको हो ।

खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर ब्याटिङ गरे पनि आठ विकेट गुमाएर १२५ रनमात्र बनाउन सक्यो ।

नेपालका लागि इन्दु बर्माले ३०, सम्झना खड्काले २३, पूजा महतोले १८ र कविता जोशीले १४ रन बनाए। सीता राना १० रनमा नटआउट रहिन् । नेपालका लागि १४ रन अतिरिक्तका रुपमा मिल्यो ।यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

नेदरल्याण्डस्का लागि बवितेडी लिडाले सर्वाधिक ४१ र हेटर साइग्रेसले २६ रन बनाएकी थिइन् । फोवे मोल्कन्बरले र रोविना रिजर्कले समान २१-२१ रनको योगदान दिए ।

बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट लिएकी थिइन् । ३ ओभर बलिङ गरेकी उनले १२ रन दिएर ५ विकेट झारिन्। मनिषा उपाध्यायले २ विकेट लिइन् । कविता जोशी र इन्दु बर्माले समान १/१ विकेट झारे ।

घरेलु भूमिमा लगातार हारपछि नेपाल सिरिजबाट बाहिरिएको छ । नेपालले मंगलबार अन्तिम खेल थाइल्याण्डसँग खेल्नेछ । खेल नेपालका लागि औ‍पचारिकता मात्रै हुनेछ । यसघि नेपालले दुवै खेल गुमाएको थियो । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनको पराजय भोग्यो । दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले हार्न पुगेको थियो ।

जारी श्रृङ्खलामा थाइल्याण्ड चार अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड दुई अंकसहित दोस्रो स्थानमा छ । नेपाल अहिलेसम्म अंकविहीन छ । आईसीसी वरीयतामा थाइल्याण्ड १३औँ, नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा रहेका टोली हुन्।