Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सांसदहरू लिएर सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगे रवि लामिछाने, के भयो छलफल?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सभामुख देवराज घिमिरेलाई भेट्न सिंहदरबार पुगेका छन् । घिमेरेलाई भेट्न शुक्रबार लामिछाने सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा गएका हुन् ।

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । बैठकको मुखमा लामिछानेले सभामुखलाई भेटेका हुन् । सहकारी ठगी प्रकरणमा कास्की अदालतमा मुद्दा दायर भएपछि ०८१ पुस ८ मा लामिछाने सांसद पदबाट निलम्बित भएका हुन् ।  प्रमुख सचेतक सन्तोष परियारसहितको टोली संसद् सचिवालय पुगेर सभामुख देवराज घिमिरेलाई भेटेका उनको सचिवालयले जनाएको छ ।

Rabi-Devraj-1738305196.jpg

रास्वपा सभापति तथा निलम्बित सांसद रवि लामिछाने पनि सभामुखलाई भेट्न संसद् सचिवालय पुगेका छन् । रास्वपा सांसदहरू सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवा गरिदिन मागसहित पत्र लिएर सभामुख घिमिरेकहाँ पुगेका हुन् ।

रास्वपाका एक सांसदले सभापतिलाई सांसदबाट गरिएको निलम्बन फुकुवाको आग्रहसहित आफूहरू सभामुखकहाँ पुगेको जानकारी दिएका छन् । २०८० वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित लामिछाने गत पुस ८ गतेदेखि सांसदबाट निलम्बित अवस्थामा छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलेसँगै उनी सांसद पदबाट निलम्बित भएका थिए ।

सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरण मुद्दा लागेका रविलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईले गत पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । उक्त मुद्दाको अन्तिम निरुपण भइनसकेकाले रवि सांसद पदमा फर्किने सम्भावना छैन । मुद्दाको अन्तिम किनारा नलागे पनि रास्वपा सांसदहरू रविको निलम्बन फुकुवा मागसहित सभामुखकहाँ पुगेका हुन् ।

यसैबीच शुक्रबारदेखि नै संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । अधिवेशनको पहिलो बैठकमा सबै दलका शीर्ष नेताहरूले बोल्ने तालिका छ । त्यसैगरी यसअघि सरकारले जारी गरेका ६ वटा अध्यादेश पनि यसै अधिवेशनको पहिलो दिन पेश हुँदैछ । तर ती अध्यादेशविरुद्ध प्रतिपक्षी दलले मोर्चाबन्दीको तयारी गरेका छन् ।