Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

महिला त्रिकोणात्मक क्रिकेट: पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित

महिला टी–ट्वेन्टी आई त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । बिहीबार नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सिता राना मगरले २८, कविता जोशीले २७, पूजा महतोले २४, रुविना क्षेत्रीले ११ रन बनाउँदा अरूले दोहोरो अंकको रन बनाउन सकेनन्। सम्झना खड्काले ९, कप्तान इन्दु बर्माले ७, कविता कुँवरले ८ रन बनाउँदा एलिसा यादव ४ र विन्दु रावल ३ रनमा अविजित रहे। 

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेदरल्याण्ड्सले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। उसका लागि रोबिनी रिज्केले अविजित ५९ रनको योगदान गरिन्। आइरिस ज्वीलिङ पनि ३१ रनमा नटआउट रहिन्। स्टेयर कालिसले २९ र हिथर साइगर्सले २३ रन जोडिन्।

नेपालकी सिता रानामागर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज सुरु भएको हो। 

सिरिजमा प्रत्येक टोलीले आपसमा दुई–दुई खेल खेल्नेछन्। जसबाट शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। सिरिज माघ २५ गतेसम्म चल्नेछ । नेपालले अर्को खेल पर्सि १९ गते थाइल्याण्डसँग खेल्ने तालिका छ। यो सिरिज नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण हुने क्यानको दाबी छ।