नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशका सबै क्षेत्र अस्तव्यस्त भएका कारण कांग्रेस र एमालेबीच सहकार्य आवश्यक भएको बताएका छन्।
बिहीबार प्रेस चौतारी नेपाल ललितपुरको छैटौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले सुशासन कायम गरी अर्थतन्त्रलाई चलायमान बनाई नागरिकमा आशा जगाउन दुई दल मिलेर सरकार बनाएको बताए।
कांग्रेस र एमालेबीच सहज अवस्थामा प्रतिस्पर्धा हुने बताउँदै ज्ञवालीले देश र व्यवस्थालाई संकट पर्दा दुई दल मिल्ने गरेको बताए। ‘धेरैको अनुमान विपरीत नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिएर राष्ट्रको समस्या सम्बोधनको प्रयास भएको छ,’ उनले भने। सहकारीका ठगलाई कारबाही अघि बढाउँदा रास्वपाले यो रवि लामिछाने र रास्वपालाई समाप्त गर्न चालिएको कदम भनी गरेको प्रचारको ज्ञवालीले दाबी गरे। सहकारी ठगी प्रकरणमा रास्वपाका मात्र नभएर नेकपा एमालेलगायत अन्य दलमा आबद्ध मानिसहरूमाथि पनि मुद्दा चलिरहेको उनले बताए।
‘गल्ती छ भने सडक अदालतले गरेको फैसलाको अर्थ छैन,’ उनले भने। सरकार ढल्छ भनेर बारम्बार म्याद तोक्नेहरू सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्ध अझ बलियो भएको देखेर छटपटाएको ज्ञवालीले बताए। ६-६ महिलनामा सरकार फेर्ने बिचौलियाको प्रयास अहिले असफल भएको उनको भनाइ छ। यसमा विभिन्न शक्ति लागेका बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यसको केन्द्रमा रहेको उनले बताए।
देश एकदमै राम्रो विन्दुमा पुग्यो भन्ने अवस्था अहिले नभए पनि देश सकारात्मक दिशामा अघि बढेको उनले बताए। माओवादीको १० वर्षे द्वन्द्वले गरेको क्षति र त्यसलाई व्यवस्थापन गर्न लागेको अर्को १० वर्षले देशको विकास गतिलाई पछि धकेलेको उनको भनाइ छ। नेकपा एमाले सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्दै उनले लोकतन्त्रले जनताको जीवनमा पनि परिवर्तन ल्याउनुपर्ने बताए। नेकपा एमाले ‘समृद्ध नेपाल सुखी नेपाली’को मर्मलाई बोक्न सक्ने लोकतन्त्रको पक्षमा रहेको उनले बताए।