नेपालका लागि दुई खेलाडीले डेब्यू गर्दै
त्रिदेशीय महिला क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाली टिमले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर नेपाली टिमकी कप्तान इन्दु बर्माले फिल्डिङको निर्णय गर्दै डच टिमलाई ब्याटिङमा निम्त्याएकी हुन् ।
जारीदेखि सुरु भएको प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डको सहभागिता छ । प्रतियोगिताका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका निम्ति दर्शकहरुलाई नि:शुल्क प्रवेश गराउने जनाएको छ ।
नेपालका लागि दुई खेलाडीले डेब्यू गर्दै छन् । एलिशा कुमारी यादव र मनिषा उपाध्यायले डेब्यू गर्न लागेका हुन् । एलिशा नेपालको यू-१९ विश्वकप टोलीमा थिइन् भने मनिषाले यसअघी यू-१९ टोलीबाट खेलेकी थिइन् । उनी भर्खरै सम्पन्न महिला पीएम कपमा सर्वाधिक विकेट लिने खेलाडी समेत थिइन् ।
नेपाल र नेदरल्याण्ड्स बीच महिला क्रिकेटमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो। पहिलोपटक खेल्न दुवै टोली उत्साहित छन् । श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।
नेपालको प्लेइङ ११ : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, कविता जोशी, मनिषा उपाध्याय र ईश्वरी विष्ट