शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आयोजित चौथो व्यासनगर खुला महिला हाफ म्याराथनको उपाधि नेपाली सेनामा कार्यरत रोल्पाकी आश्मा विकले जितेकी छन्।
व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी १ घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गर्दै विकले प्रथम पुरस्कार हात पारेकी हुन्। म्याराथनमा सहभागी ३३ जना धावकलाई पछि पार्दै उनले ४१ हजार ८१ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन्।
उनका अनुसार ओखलढुङ्गा निवासी नेपाली सेनाकी लक्पा डिङ्मा शेर्पाले २ घण्टा ४ मिनेट ५३ सेकेण्डमा दूरी पार गरी द्वितीय भएकी छन्। उनले ३१ हजार ८१ रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्।
त्यसैगरी नेपाल प्रहरीमा कार्यरत काठमाडौँकी विमला तामाङले २ घण्टा १२ मिनेट ३८ सेकेण्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरी २१ हजार ८१ रुपैयाँ नगद ट्रफी तथा प्रमाणपत्र प्राप्त गरिन्। म्याराथनमा सान्त्वना हुने नम्रता गुरुङ, सन्ध्या अधिकारी, अस्मिता थापा, सङ्गीता रानाभाट र मुना मजकोटी ५ जनालाई जनही ११ हजार ८१ रुपैयाँ नगदका दरले नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ।
विजयी खेलाडीलाई जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यासकी उपप्रमुख इन्दिरा दरैले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन्।