Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वैकल्पिक शक्ति निर्माणको सिद्धान्त छाडेका छैनौं, बेइमानसँग ठगियौंः बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय ‘बेइमान’ सँग सहकार्य गर्दा ठगिएको टिप्पणी गरेका छन् । बुधवार आफ्नै पार्टी निकट नेपाल समाजवादी विद्यार्थी युनियनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो दुःखेसो पोखेका हुन् ।

‘हामीले जुन वैकल्पिक शक्ति निर्माण गरेका छौं । त्यसमा केही बाँङ्गोटिङ्गो भयो,’ अध्यक्ष भट्टराईले भने, ‘बेइमानहरूसँग सहकार्य गर्दा ठगिएका मात्र हौं, हामीले अरू केही गल्ती गरेका होइनौं ।’ आफूले अझै पनि वैकल्पिक शक्ति निर्माण गर्ने सिद्धान्त र विचार नछाडेका भट्टराईले दाबी गरेका छन् ।

उनले भने, ‘खाली के हो भने संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही कामहरू बाँकी छन् । राजावादीहरूले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठूलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन।’ अध्यक्ष भट्टराईले अब पुराना राजनीतिक दलसँग एकता र सहकार्य हुने सम्भावना नै सकिएको बताएका छन् ।

‘पुराना पार्टीहरूसँग मिल्ने कहिल्यै भनेकै छैन । सहकार्य गरेको हो त । मधेसवादी र क्षेत्रीय दलहरू समेत आन्दोलनबाट आएका हुनाले सहकार्य गरिएको हो,’ उनले भने । तर मधेसवादी दल पनि धेरै पर पुगिसकेको भट्टराईले टिप्पणी गरेका छन् ।