सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको बताएका छन् । आज बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले आर्थिक रुपान्तरण र सुशासन कायम गर्ने गरी सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्रमा उत्साह देखिएको दावी गरे ।
ज्ञवालीले संसदमा दर्ता भएको सामाजिक सञ्जाल नियमनको विधेयकले सबैलाई मर्यादामा राख्ने, प्रेस स्वतन्त्रता कायम गर्ने र गलत सूचनाबाट सबैलाई जोगाउने जिकिर गरे । त्यस्तै उनले देशभर सहकारी पीडितलाई अहिलेको सरकार बनेपछि ठूलो रकम फिर्ता गराएको र अहिले पनि निरन्तर काम भएको बताएका छन् ।
उपमहासचिव ज्ञवालीले एमालेको राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आउने चर्चाका विषयमा संवैधानिक राष्ट्र प्रमुख कुनै पार्टीको राजनीतिमा फर्किने कुरा उचित नभएको उल्लेख गरे । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनु उचित नहुने बताए । उनले एमालेमा यो विषयमा कुनै छलफल समेत नभएको समेत बताएका छन् ।
‘सामान्यतयाः संवैधानिक राष्ट्राध्यक्षहरू मुलुककै अभिभावक हो । त्यस अर्थमा नेकपा एमालेको पनि अभिभावक हो उहाँहरू । तर मुलुककै अभिभावक भइसकेको मान्छे, पार्टीमा प्रत्यक्ष कार्यकारी भूमिकामा फर्कने कुरा चाहिँ मैले सामान्य अवस्थामा त्यो उचित हो भन्ने म ठान्दिनँ,’ ज्ञवालीले भने । उक्त विषयमा पूर्व राष्ट्रपति भण्डारी सचेत नै भएको जस्तो आफूलाई लागेको पनि ज्ञवालीले बताएका छन् । पूर्व राष्ट्रपति भण्डारी सामान्य अवस्था एमालेलेमा सक्रिय हुने सम्भावना आफूले नदेखेको भन्दै ज्ञवालीले आम नागरिकले पनि यस्तो कुरा नचाहेको दाबी गरे । ज्ञवालीले देशमा स्थायित्वका लागि अहिलेको गठबन्धन बनेको र केही निरासा चिर्ने गरी सरकारले काम गरेको बताए ।