Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

एपीएफ अपराजित रहँदै एन्फा महिला लिगको च्याम्पियन

पूर्व कप्तान लामाले लिइन् घरेलु फुटबलबाट सन्यास

एन्फा महिला लिग फुटबलको उपाधि अपराजित विभागीय टोली एपीएफले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले हराउँदै एपीएफले लिग च्याम्पियन बनेको हो। एपीएफको जितमा सबिता राना मगरले २, र सुरु लिम्बु तथा अनु लामाले समान १–१ गोल गरिन् ।

पहिलो हाफ गोलरहित बराबरीमा सक्किएको खेलको दोस्रो हाफको ६४ औं मिनेटमा सविताको गोलमार्फत एपिएफले सुरुआती अग्रता लियो । त्यसको ६ मिनेटपछि नै सुरु लिम्वुले अग्रता दोब्बर बनाइन् । ८४ औं मिनेटमा सविताले तेस्रो गोल गरिन्। इन्जुरी समयमा वैकल्पिक खेलाडी अनुले गोल गर्दै एपीएफको ४–० को जित पक्का गरिन् । अपराजित रहँदै च्याम्पियन बन्ने क्रममा एपीएफले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ बराबरी गर्न सफल भयो ।


उपाधिसँगै एपीएफले नगद १० लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ५ लाख प्राप्त गरेको छ । एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।

पूर्व कप्तान लामाले लिइन् घरेलु फुटबलबाट सन्यास
राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान अनु लामाले घरेलु फुटबलबाट सन्यास लिएकी छिन् । राष्ट्रिय टिमबाट यसअघि नै सन्यास लिइसकेकी अनुले बुधबार एन्फा महिला लिगको फाइनलपछि घरेलु फुटबलबाट सन्यास लिएकी हुन् ।

उनले नेपाली राष्ट्रिय टिमका लागि ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् । उनलाई फाइनलपछि च्याम्पियन एपीएफका खेलाडीहरुले गार्ड अफ अनर प्रदान गरेका थिए । बुधबारको फाइनल खेलमा लामाले इन्जुरी समयमा गोल गरेकी थिइन् ।