Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

पार्टीलाई अब आफ्नै वर्गतिरै फर्काउँछुः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण शक्ति लगाएर पार्टीलाई आफ्नै आधारभूत वर्गतिर फर्काउन प्रयासमा लागिरहेको बताएका छन् । चुहानडाँडास्थित तेह्रथुम बहुमुखी क्याम्पसको सभाहलमा मंगलबार आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा उनले सम्पूर्ण शक्तिका साथ पार्टीलाई र जनतातर्फ फर्काउने दिशामा अघि बढिएको बताए ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा देशव्यापी जागरण पैदा भएको दावी गरेका छन् । जनयुद्धबाट शान्ति प्रक्रियामा आएपछि आफ्नो वर्गसँगको सम्बन्ध कमजोर भएको र वर्ग बैरीहरूसँगको उठबस बाक्लो भएको उनले बताए । हालै सम्पन्न केन्द्रीय समिति बैठकले सर्वसम्मतिबाट कार्यशैली सिफ्ट गर्ने निर्णय लिएकाले त्यसैअनुसार सांगठनिक जिम्मेवारी तथा कार्यक्रम तय गरिएको उनले बताए ।


‘शान्ति प्रक्रियापछि हामीलाई केही न केही धुलोमैलो लाग्यो । हामीले महान शहीदका परिवार, बेपत्ता योद्धाका परिवार, घाइते र अपांगता भएकाहरूलाई निरन्तर भेटघाट गरेर सुखदुःख बुझ्नुपर्ने थियो । उनीहरूलाई मल्हमपट्टी लगाइरहनुपर्ने आवश्यकता बिर्सिएको जस्तो, बेवास्ता गरेको जस्तो भयो’, प्रचण्डले भने, ‘मजदुर, किसान, उत्पीडित समुदाय, क्षेत्र, दलित, महिला, जनजाति, थारुका मुद्दा हामीले सुरुमा जसरी उठायौं पछि आउँदा विस्तारै त्यो वर्गलाई माओवादीले बीचैमा छोडिदियो भन्ने पर्न गयो । वर्गबैरीहरूसँग बढी सहकार्य गरेको जस्तो देखियो । अब त्यो गल्ती सच्याएर अघि बढ्ने काम सुरु गरिएको छ ।’

उनले एकपछि अर्को गरी पार्टी विभाजनको शृंखला रोक्न नसकिएको पनि स्वीकारे । अब माओवादी धारका सबै समूहलाई एकताबद्ध गर्ने अभियानमा आफूहरू लागिपरेको उनको भनाइ थियो । ‘अब हमी हाम्रो वर्गसँगकोे सम्बन्धलाई बजबुत बनाउने र बलिदानका साथ स्थापित गरिएका त्यो वर्गका मुद्धाहरूलाई फेरि उजागर गर्ने, स्थापित गर्ने र अगाडि ल्याउने काममा लागेका छौं’ प्रचण्डले भने ।