Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

माघ महिनामा प्रतिनिधिसभाका ६ बैठक बस्ने, कार्यतालिका सार्वजनिक

संघीय संसद्को कार्यव्यवस्था परामर्श समितिले माघ महिनाको प्रतिनिधिसभाको सम्भावित कार्यसूची तय गरेको छ । माघ महिनामा प्रतिनिधिसभाको बैठक ६ दिन बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ भने त्यसपछि २२, २३, २४, २८,२९ र ३० माघमा बैठक बस्ने छ ।

कार्यसूचीअनुसार माघ १८ गते पहिलो दिन अधिवेशन आह्वानको पत्रको जानकारी, ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र, अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य (दलीय आधारमा) अध्यादेश (सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१), सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने कार्यसूची तय गरेको छ।


त्यस्तै, माघ २४ गते शून्य समय, विशेष समय, समिति (अर्थ समिति र राज्य व्यवस्था तथा सुशासन समितिको विधेयकसम्बन्धी प्रतिवेदन पेस, वार्षिक प्रतिवेदन पेस, पेस भएका सबै अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । त्यस्तै, माघ २५ गते बैठकमा शून्य समय विधायन विधेयक सम्बन्धमा कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित दफावार छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत, आइएलओ प्रोटोकल तथा सिफारिसहरूसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ ।

त्यस्तै, माघ २७ गतेको बैठकमा शून्य समय, विशेष समय, वार्षिक प्रतिवेदन पेस, बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धमा अर्थ समितिको प्रतिवेदनसहित दफावार छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

त्यसैगरी, माघ २८ गते शून्य समय, वार्षिक प्रतिवेदन पेस सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सम्बन्धमा अर्थ समितिको प्रतिवेदनसहित दफावार छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । त्यस्तै, माघ २९ गते शून्य समय, विशेष समय, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित दफावार छलफल र पारित गर्ने प्रस्ताव प्रस्तुत गर्ने तलिका तय भएको छ ।

 

t.gif