पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी राजनीतिमा सक्रिय भईहाल्ने समय आइनसकेको बताएकी छन् । पूर्व राष्ट्रपति भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः फर्किन भने सक्ने बताइन् । अहिले नै भने कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको उनको भनाइ छ ।
आफू अहिले पनि राष्ट्रिय राजनीतिमा भने सक्रिय नै रहेको उनको भनाइ छ । ‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेण्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यता जस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु,’ उनले भनिन्, ‘ती एजेण्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुप¥यो भने त्यतिबेला निर्णय गर्नेछु ।’
दलीय राजनीति राजनीतिकमा सक्रिय हुने अवस्थामा एमालेमै जानुपर्ने उनको भनाइ थियो । एमालेको भावी अध्यक्षको भूमिका आउन चाहनु भएको हो भन्ने प्रश्नमा उनले भनिन्, ‘जहाँसम्म दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’
जनता मावि इटहरीको वार्षिक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले विराटनगरमा सञ्चारकर्मीहरूसँग छलफल गरेकी हुन् । ‘विराटनगर मेरो पुरानो गृह जिल्ला पनि हो, राजनीति गरेको स्थान पनि हो । पुराना साथी र नयाँ पुस्तासँग पनि भेट हुने भएर म आएको हुँ । यहीक्रममा तपाईंहरूसँग पनि भेट्न मन लाग्यो,’ उनले भनिन् । ‘देशको राष्ट्रियता, स्थायित्व र प्रगतिमा हामीले चासो राख्नुपर्छ । त्यसमा मेरो गहिरो चासो छ,’ उनले भनिन् ।