Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कांग्रेसबाट सरकारलाई पूराका पूरा साथ छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नव निर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्रका पालामा शासन टिकाउनका लागि मरिमेट्दा विकास राम्ररी हुन नसकेको र लोकतन्त्रयताका विकास निर्माणको गति बेग्लै भएको बताए ।

‘अब नेपालमा विकासको क्रममा अगाडि बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नेछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली कांग्रेस र नेकपा एमालेले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ।’


प्रधानमन्त्री ओलीले पूर्व सहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट गरे । उनले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने स्पष्ट गरे । प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्वीर सार्वजनिक गरेर भ्रम फैलाइएकामा टिप्पणी गर्दै भने, ‘मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्यू गरेको देख्यो भने आइसियु कक्षमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।’

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने नाममा सीमित संख्या भएकाहरुको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरुको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह गरे । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगर प्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका एैक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिए ।