Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

बैंक ज्ञारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटेपछि रवि लामिछानेले भने- 'मैले भन्नपर्ने कुरा केही छैन'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएर रिहा भएका छन् । बैंक ज्ञारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएका हुन् । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो ।

सोही अनुसार उनी आइतबार नै बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर रिहा भएका हुन् ।गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।

धरौटी बुझाएर निस्कने क्रममा उनले भनेका छन्, ‘मैले भन्नपर्ने कुरा केही छैन । म न्यायालयप्रति आभारी छु । भन्नपर्ने बेला आउँदा भनिहाल्छु । अहिले न्यायालयप्रति आभार व्यक्त गर्न चाहन्छु ’ साथै, उनले देश विदेशबाट आफ्नो न्यायका लागि आवाज उठाउनेलाई धन्यवाद पनि दिएका छन् । ‘देश विदेशबाट मेरो न्यायको लागि आवाज उठाउने सम्पूर्णलाई मेरो धन्यवाद,’ रविले भनेका छन् । 

थुनछेक बहसमा सरकारी वकिलहरुले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।

लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा रविविरुद्ध जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो ।

सहकारीलाई रकम तिर्न प्रयोग भएको लामिछानेद्वारा हस्ताक्षरित चेक, श्रीमती निकिता पौडेललाई भएको भुक्तानी, झुठो विवरणबाट भएको कम्पनीको स्वामित्व हस्तान्तरण लगायतलाई आधार बनाउँदै सहकारी ठगीमा उनको संलग्नता पुष्टि हुने सरकारी वकिलले अभियोग पत्रमा जिकिर गरेको थियो ।