Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेपाली जनताले विश्वास गरे २०८४ मा बहुमत ल्याउँछौँः विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले ०८४ को निर्वाचनमा जनताले विश्वास गरे बहुमत ल्याउने दाबी गरेका छन् । आज आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव चन्दले नेकपालाई ०८४ को निर्वाचनमा जिताए राष्ट्रिय स्वाधिनताका लागि काम गर्ने बताए।

नेपाली जनताले विश्वास गरे बहुमत वा दुई तिहाई सिट नेकपाले जित्ने उनको भनाइ छ । ‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक पटक ०८४ लाई समाजवादी अभियानको निम्ति प्रयोग गर्ने, राष्ट्रिय स्वाधिनताका लागि प्रयोग गर्ने, संसदीय चुनाव हो हामीलाई थाहा छ । मान्छेले भनेका छन् हामीलाई तपाईंहरू घुम्दै फिर्दै त्यहीं आउनु भयो नि त । हो यो चुनाव हो । हाम्रो अपिल छ नेपाली जनतालाई संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने हाम्रो चाहना छ । देशलाई स्वाधिन बनाउने एजेण्डासहित नेपाली जनतालाई माथि उठाउने उद्देश्यसहित एकचोटी जाने विचार छ । यदि नेपाली जनताले हामीलाई विश्वास गर्नुभयो भने,’ उनले भने ।

महासचिव चन्दले ०८४ को निर्वाचन अग्रगमन, स्वाधिनता, समाजवादको पक्षमा हुने बताए ।