‘कांग्रेस र एमालेले अहिले नै २०८४ को चुनाव भन्न पाउँदैनन्’
सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा केही हेरफेर भए पनि आधारभूत कुरामा परिवर्तन नहुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित मीनकुमारी राणा प्रतिष्ठानको छात्रवृत्ति वितरण कार्यक्रम बोल्दै उनले फेरि अर्को व्यवस्था खोज्न थालिए अर्को १० वर्ष पनि खेर जाने टिप्पणी गरे । महामन्त्री थापाले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले अहिलेदेखि नै २०८४ को चुनाव भनेर कुरा गर्नै नहुने बताएका छन् ।
शुक्रबार भक्तपुरमा मीनकुमारी राणा प्रतिष्ठाको कार्यक्रममा थापाले सरकारमा बसेर ३ वर्ष काम गर्ने समय रहेको भन्दै चुनावको कुरा अहिले नै गर्न नहुने बताएका हुन् ।
‘अरुले भने पनि २०८४ को बारेमा कांग्रेस र एमालेले कुरा गर्न पाइँदैन । किनकि १८ महिना बीपीले सरकार चलाउँदा आर्थिक क्षेत्रमा सबैभन्दा बढी प्रगति भएको छ । २०४८ सालपछि २०५१ सालसम्मको तीन उत्तिकै आर्थिक प्रगति भएको छ । एमालेले पनि मनमोहन अधिकारीका ९ महिनालाई गर्व गर्छ,’ थापाले भने, ‘यसैले कांग्रेस एमालेसँग तीन वर्ष छ । तीन वर्ष भनेको बीपी, गिरिजा र मनमोहनले छुट्टाछुट्टै चलाएको भन्दा बढी समय हो । यसैले तीन वर्षमा हामीले पहिलेभन्दा धेरै र राम्रो काम गर्छौ भनेर नतिजा दिनुपर्छ ।’
उन्नत राजनीतिक व्यवस्थामा रहेको भन्दै थापाले नेपालीले अब आय स्तर र जीविकोपार्जनमा नतिजा खोलेको उनले बताए । ‘अब यो बेलामा नेपालीको आय बढ्नु पर्यो । नेपाल पहिलेको जस्तो छैन । बाटोघाटो धेरै थोकको विकास भएको छ । तर थोरै भए पनि प्रगतिको भोक छ । अविकसित अवस्थाबाट विकसित हुने, आय बढ्ने, केटाकेटीले यही रोजगारी पाएको देख्न धेरैलाई मन छ,’ थापाले भने, ‘अहिलेकै व्यवस्थाभित्र नेपालमा गरिखान सक्ने अवस्था बनाउनुपर्छ। नेपालमा बसेर जीविकोपार्जन कसरी गर्ने भनेर देश चलाउने मान्छेले सोच्नपर्छ । यसैको लागि प्रतिस्पर्धा हुनुपर्छ ।’
लडेर ल्याएको व्यवस्थालाई खेर जान दिन नहुने भन्दै उनले इमानदार भएर काम गर्नुपर्ने बताए । ‘अहिलेको प्रधानमन्त्री, हुनेवाला प्रधानमन्त्री वा भइसकेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग काम गर्न चलाउन सक्छु भन्नु लागेको छ । सक्छु भनेर प्रयास पनि गरेको हो,’ थापाले भने, ‘तर प्रयास गर्दैमा असफल भइयो भनेर सहयोगको नीति छैन । कम्तीमा पनि लडेर ल्याएको व्यवस्थालाई खेर नफालौं । काम गरौं भन्नेमा छौं ।’