Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राजनीति सङ्लो हुन सके १० वर्षमा मुलुकमा समृद्धि सम्भवः स्वर्णिम वाग्ले

प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके १० वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिने बताएका छन् । तनहुँ सम्पर्क समाज पोखराको आठौँ साधारणसभा तथा अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले राजनीतिक दलहरु सुशासन र विकासको अभियान लिएर अगाडि बढेमा मात्रै समृद्धि सम्भव हुने बताए ।

नेपाली जनताले विकास र सुशासन चाहेको बताउँदै उनले राजनीतिक दलका अधिकांश नेताले राजनीतिलाई पेसा बनाएकै कारण विकासले गति लिन नसकेको दाबी गरे । कोरोना महामारीपछि मुलुकको अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थतन्त्रको विकासका लागि सबै राजनीतिक दल एक ठाउँमा आउनुपर्ने आवश्यकता औंल्याए ।

गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री हरिबहादुर चुमानले मुलुकमा समृद्धि ल्याउनका लागि दलहरु मिल्नुपर्नेमा जोड दिए। गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष श्रीकान्त खतिवडाले केन्द्र सरकार ठूला आयोजनामा केन्द्रित हुन जरुरी रहेको बताए । त्यस अवसरमा सामाजिक एवं राजनीतिक व्यक्तित्व नीलकण्ठ शर्मालाई तनहुँ रत्नबाट सम्मानित गरिएको थियो । ८० वर्षीय शर्मा नेपाली कांग्रेसका पुराना नेता समेत हुन् । प्राध्यापक अम्विका भट्टराईले शर्माको व्यक्तित्वबारे चर्चा गरेका थिए ।