Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सत्ता समीकरण भत्काउन बाह्य शक्ति खेलिरहेका छन्ः सीपी मैनाली

नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति सक्रिय रहेको दावी गरेका छन् ।

आज शनिबार काठमाडौंमा आयोजित एकदेव आलेको ५६औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेस मिलेर सरकार अघि बढे २०८४ सालसम्म स्थायित्व हुने सम्भावना रहेको तर बाह्य शक्तिले सरकार भत्काउने षड्यन्त्र गरिरहेको दाबी गरे । उनले देशभित्रका कतिपय शक्तिहरूले पनि बाह्य शक्तिको एजेण्डालाई समर्थन गरिरहेको आरोप लगाए।

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने हो भने स्थायित्व सम्भव छ, तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने षड्यन्त्रमा लागेको छ । देशभित्रका केही शक्तिहरूले बाह्य शक्तिको पक्षमा खेलिरहेका छन् । यसरी नै बाह्य शक्ति हाबी हुने हो भने, बहुमत भए पनि सरकार ढल्न कुनै आइतबार लाग्दैन ।’


महासचिव मैनालीले बाह्य शक्तिको प्रभुत्व, दलाल पुँजीवाद, र सामन्तवादी प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बताए। उनका अनुसार यी तत्वहरू हाल देशको प्रमुख शत्रु हुन् । उनले थपे, ‘बाह्य शक्तिहरूसँगको अन्तरविरोध र सामन्तवादी सोचका कारण देशले स्थायित्व पाउन सकेको छैन । यिनको अन्त्य नै अहिलेको आवश्यकता हो ।’ 

त्यस्तै महासचिव मैनालीले कम्युनिस्टहरूबीच भएको कमजोरी, त्रुटि र असफलताका विषयमा खुलेर छलफल गर्न आवश्यक रहेको धारणा पनि व्यक्त गरे ।