Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सर्वोच्चले कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवाको पुनरावलोकन गर्ने

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने आफ्नो फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ ।

न्यायाधीशहरू सपना मल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले फैसला पुनरावलोकन हुनुपर्ने मागसहितको निवेदनलाई ‘निस्सा दिने’ आदेश गरेको हो । फैसला पुनरावलोकनको निवेदनमा ‘निस्सा हुने’ आदेश भएपछि पुरानो फैसलामाथि सर्वोच्च अदालतमा फेरि सुनुवाइ हुन्छ ।

तीन सदस्यीय न्यायधीशको पूर्ण इजलासले यसअघिको संयुक्त इजलासले गरेको फैसलाको न्यायिक परिक्षण गर्नेछ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सांसद गुरूङको निलम्बन फुकुवा गरी संसद प्रवेशको बाटो खोल्ने सर्वोच्चकै फैसलाविरूद्ध पुनरावलोकनका लागि निवेदन दिएको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय मनोज शर्मा र विनोद शर्माको इजलासले २०८० साल चैत १६ गते गुरूङको निलम्बन फुकुवा गरी संसद प्रवेश गर्ने बाटो खोलिदिएको थियो । मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङलाई २०७९ पुस १२ गते अख्तियारको पत्रद्वारा सांसद पदबाट निलम्बत थिए । निलम्बनविरूद्ध गुरूङले २०८० फागुन २१ गते रिट दायर गरेका थिए ।

t1.png