Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अखिल क्रान्तिकारीको विभिन्न आयोग सदस्यमा १३ जना निर्विरोध (सूचीसहित)

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति अन्तर्गतका विभिन्न आयोगमा १३ जना निविरोध निर्वाचित भएका छन् । लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगमा विभिन्न प्रदेशबाट निर्वाचित भएर आउने सदस्य पदमा एकल उम्मेदवारी परेपछि १३ जना नयाँ नेतृत्व चयनका लागि शनिवार हुने निर्वाचन अगावै निविरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार लेखा आयोगको सदस्यमा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशबाट उम्मेदवारी नै दर्ता भएन । यस्तै निर्वाचन आयोग सदस्यमा लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशबाट उम्मेदवारी नै परेन । यस्तै अनुशासन आयोग सदस्यमा लुम्बिनी र बागमती प्रदेशबाट उम्मेदवारी नै दर्ता नभएको निर्वाचन समितिले जनाएको छ ।

लेखा आयोगको सदस्यमा बागमती प्रदेशबाट राजेशबहादुर खत्री, मधेश प्रदेशबाट मनोहर यादव, प्रदेश १ बाट सन्देश राई र सुदूरपश्चिम प्रदेशबाट मनिषा साउँदको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका छन् । यस्तै अनुशासन आयोग सदस्यमा उपत्यका विशेष प्रदेशबाट सुजन घिमिरे, प्रदेश १ बाट विक्रम परियार, गण्डकी प्रदेशबाट उमेश खनाल, मधेश प्रदेशमा जितेन्द्रकुमार यादव र विश्वविद्यालय प्रदेशबाट आशिम बास्ताकोटीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोग सदस्यमा पनि प्रदेश १ बाट दर्शन शाह, विश्वविद्यालय प्रदेशबाट विपिन लामा, उपत्यका विशेष प्रदेशबाट निराजन गौतम र सुदूरपश्चिम प्रदेशबाट पूर्णसिंह धामीको एकल उम्मेदवारी दर्ता भएको छ । उनीहरू पनि निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले उनीहरु निर्वाचित भएको घोषणा गर्न बाँकी छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिमा ३१२ पदका लागि ५०० जनाको उम्मेदवारी दर्ता भइसकेको छ । पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धेरैको उम्मेदवारी परे पनि केन्द्रीय समिति अन्तरगत नै रहेका विभिन्न आयोगमा प्रदेशबाट निर्वाचित भएर आउने सदस्य पदमा भने अधिकांशमा उम्मेदवारी नै नपरेको हो ।