Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वर्तमान सरकार ८४ को निर्वाचनसम्मै गई दिए हुन्थ्यो भन्ने होः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन् । चितवनमा आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले माओवादी केन्द्रको प्राथमिकता जनता भएको बताए ।

अध्यक्ष दाहालले भने, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन । मैले धेरै चोटी भनेको छु, हाम्रो प्राथमिकता सङ्गठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तार हो, सरकार होइन ।’ आफूहरू सरकार परिवर्तनको खेलमा नभएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार २०८४ सालको आम निर्वाचनसम्म गई दिए हुन्थ्यो भन्नेमा माओवादी केन्द्र रहेको बताए । माओवादी केन्द्र अहिले जनतासँगको सम्बन्ध विस्तार र पार्टी बलियो बनाउने कार्यमा लागेको उनले जानकारी दिए । चितवनमा कांग्रेस नेता डा। शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकार लामो समयसम्म नटिक्ने दाबी गरे ।

उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रष्ट भन्ने गरेको छु । यो प्राकृतिक, स्वाभाविक र पारदर्शी छैन । सरकारले गरेका कामहरू पनि उल्टापाल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजमर्दो भएको छ ।’ प्रचण्डपछि बोलेका कांग्रेस नेता कोइरालाले तत्कालै सरकार तलमाथि हुने सम्भावना कमै रहेको बताउँदै राजनीतिमा जे पनि हुनसक्ने बताए ।

कोइरालाले भने, ‘ठूलो दल मिलेर स्थिर सरकार दिनुपर्छ भन्ने चाहना छ । तत्काल तलमाथि हुने सम्भावना कमै छ । नहुने होइन, राजनीतिमा जे पनि हुन्छ, तर हामी स्थिर सरकारको पक्षमा छौं । अहिले संविधान परिवर्तनको कुरा आएको छ, के बुँदामा हो स्पष्ट हुनुपर्छ भन्ने कुरा हो ।’