Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

राम्रो काम गर्दागर्दै संख्याका बलमा मलाई सरकारबाट हटाइयोः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै संख्याको बलमा बाहिरिन बाध्य पारिएको बताएका छन् ।


आज ९सोमबार० गोरखा नगरपालिका–८ स्थित सरस्वती माविको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रचण्डले आफू नेतृत्वको सरकारले सुशासन कायम गर्न, सामाजिक न्यायका क्षेत्रमा र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उज्यालो बनाउने काम गोरखा–२ मतदाताको भावना र अभिमतको बलमा भएको बताए ।

‘सिङ्गो राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा पनि गोरखाको जनप्रतिनिधिको हैसियतले गर्न सक्ने जति राम्रो काम गर्ने जमर्को गरें,’ उनले भने, ‘यही राम्रो काम गर्नु बिचौलिया, दलाल र बुर्जुवा सोच भएका अराजकतावादीलाई सह्य भएन, तथाकथित संख्याको बलमा मैले राम्रो काम गर्दागर्दै बाहिरन बाध्य पारियो ।’

आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका लागि नयाँ संकल्पसहित अघि बढ्ने जमर्को गरेको उनले बताए । ‘नेपालको इतिहासमा सुशासनको पक्ष तथा बेथिति र भ्रष्टचारविरुद्ध यति ठूलो अभियान पहिलोचोटी चल्यो, राजनीतिक पार्टी, कर्मचारीतन्त्रका बडा(बडा हाकिमहरू, भूमाफिया, दलाल, बिचौलिया कोही बच्ने स्थिति थिएन, एकपछि अर्को सुशासनको अभियानका क्रममा कारबाहीमा परें ।’

त्यस्तै प्रचण्डले शिक्षा क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका छन् । विकास र समृद्धि, अनुशासन, स्थिरताको आधार शिक्षा क्षेत्रले तय गर्ने उनले बताए । विकसित देशले पनि विकासका लागि शिक्षा क्षेत्रमा ठूलो लगानी गर्ने गरेको उनले बताए । ‘विकसित देश र विकसित देशका नेताको पनि प्राथमिकता शिक्षा क्षेत्रमा पर्छ, देश विकासको आधार शिक्षा क्षेत्र नै हो,’ उनले भने । वर्षौंदेखि रोकिएको शिक्षा विधेयक अघि बढेको पनि उनले बताए ।