Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

वर्तमान सरकार कसैले चाहँदैमा ढल्दैनः शंकर पोखरेल

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने बताएका छन् ।

पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको तीन महिने ‘जरा केन्द्रित अभियान’ को आज यहाँ उद्घाटन गर्दै उनले साना दल विना सरकार नै नबन्ने नकारात्मक सन्देश तोड्न वर्तमान सरकार बनेकाले यो निरन्तर अगाडि बढ्ने बताए । महासचिव पोखरेलले हालको संसदमा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राखे ।

नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन सरकार विघटनको प्रसङ्ग सुनाउँदै उनले ३२ सिट भएको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गरे । संसदमा प्रतिनिधित्वका आधारमा कांग्रेस र मतका आधारमा एमाले पहिलो दल भएकाले जनताको मतको सम्मान गर्न र साना दलहरूको अनावश्यक दम्भ अन्य गर्न पनि वर्तमान सरकारले स्थायित्व पाउने महासचिव पोखरेलको भनाइ थियो ।

कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्व खानेपानीमन्त्री राजेन्द्रकुमार राई, प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईले सम्बोधन गरेका थिए । आजबाट सुरु भएको ‘तीन महिने जरा अभियान’ पार्टी कमिटीको तल्लो तह र कार्यकर्ताहरूको समस्या समाधानमा केन्द्रित रहने एमाले जिल्ला कमिटी अध्यक्ष शिवआङ्ला लिम्बूले जानकारी दिए ।