Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले माघ ४ गते मुख्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रम संघको बिरेन्द्रनगर समिति चितवन र सुदूरपश्चिम प्रदेश समिति धनगढीमा पनि सञ्चालन गरिएको थियो। संघका अन्य प्रदेश समितिहरूले माघ महिनाभर देशव्यापी रक्तदान कार्यक्रम आयोजना गर्ने योजना बनाएका छन्।

रक्तदान कार्यक्रमको उद्देश्य रगत अभावका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्नु र समाजमा सेवा भाव फैलाउनु रहेको संघले जनाएको छ। मुख्य कार्यालय समितिमार्फत १०१ युनिट, बिरेन्द्रनगर समितिमार्फत ३५ युनिट, र सुदूरपश्चिम समितिमार्फत ३५ युनिट रगत संकलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा संकलित रगत देशभरका अस्पताल र बिरामीहरूको रगत अभाव पूर्ति गर्न प्रयोग गरिनेछ।

मुख्य कार्यालय समितिको कार्यक्रम पेशागत महासंघ नेपालका अध्यक्ष पुण्य प्रसाद नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा बिमा वित्तीय संस्था कर्मचारी संघ नेपालका अध्यक्ष धर्मराज मैनाली, कृषि विकास बैंक कर्मचारी संघका अध्यक्ष लिला जिसी, बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारी, ग्राहक, र शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै पेशागत महासंघका अध्यक्ष नेपालले रक्तदानजस्तो मानवीय कार्यमा सबैको सहभागीता प्रशंसनीय भएको र आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा संघका सदस्य उमेश प्रसाईले स्वागत मन्तव्य राख्दै संघको अभियानले बिरामीहरूलाई राहत प्रदान गर्न मद्दत गरेको र ट्रेड युनियनको गरिमा बढाएको बताए। कार्यक्रमको सञ्चालन सचिव सन्दिप रेग्मीले गरेका थिए भने सभाध्यक्ष सुरेश क्षेत्रीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।