Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अहिलेको सरकारको मुख्य उद्देश्य मुलुकको आर्थिक समृद्ध: गृहमन्त्री लेखक

 गृहमन्त्री रमेश लेखकले सरकारले संघीय संसदको अधिवेशन बोलाउने तयारी गरिरहेको बताएका छन्। आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले सरकारले चाँडै संसद अधिवेशन बोलाउने गृहकार्य गरिरहेको बताएका हु्न् ।

‘सरकारले चाँडै संसद अधिवेशन बोलाउने तयारी गरेको छ अधिवेशन बोलाउने बित्तिकै पहिलो दिन नै सरकारले ल्याएका अध्यादेश प्रस्तुत हुन्छन् पछि प्रतिस्थापन गर्ने कानुन बन्छन् ।’ गृहमन्त्री लेखकले भने, ‘सरकार मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने कुरामा प्रतिबद्ध छ ।’ अहिलेको सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि गर्नु रहेको उनले बताए ।

‘नेपाली कांग्रेस र नेकपा एमाले दुई पार्टी मिलेर बनेको सरकारको उद्देश्य मुलुकको आर्थिक समृद्धि गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने हो ।’ लेखकले भने–‘मुलुकमा स्थायित्व र दिगो विकासका लागि प्रमुख दुई पार्टी मिलेर सरकार बनेको छ सरकार त्यहि अनुरुप समृद्धिको यात्रालाई अगाडि बढाउने बाटोमा अघि बढेको छ ।’ उनले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योगधन्दा फस्टाउने गरी सरकारले केहि कानुन संशोधन गरेर अध्यादेश ल्याएको बताए ।

उनले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन आग्रह गरे । ‘दुई पार्टीका बीचमा सात बुँदे सहमति भएका छन्, हामी त्यो सहमति कार्यान्वयन गछौं, त्यहि अनुसार सरकार अघि बढ्छ’ लेखकले भने । उनले अबको १८ महिना केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछि निवार्चनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए । ‘यो बीचमा हामी विकास र समृद्धिका कुरामा दृढतापूर्वक अगाडि बढ्छौं ।’ उनले भने, ‘दुई पार्टीका बीचमा भएका सात बुदे कार्यान्वयन गर्न हामी प्रतिबद्ध छौं ।’