सत्तारुढ नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहितका दुई नेतालाई पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ ।
शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरने गरी निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो । एमाले कैलालीका उपसचिव तथा प्रचार विभाग प्रमुख चुडामणि भट्टले जिल्ला कमिटीका सदस्य समेत रहेका भिष्मराज सुवेदीलाई जिम्मेवारी मुक्त गर्दै संगठीत सदस्यबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए ।
भट्टले पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्काशन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारवाही गर्न सिफारिस गरिएको बताए।एमाले कैलालीले पार्टीको संगठीत सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बुवा छोरा हुन् । उनीहरु एमालेमा भीम रावल निकट मानिदै आएका थिए । रावल कारवाहीमा परेपछि उनले चलाएको मातृभूमि जागरण अभियानमा दुवै जना सक्रिय भएका छन् ।
यस्तै, एमाले सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने पूर्व सचिव भीम उपाध्याय र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध धनगढी विमानस्थलमा भएको नाराबाजीप्रति ध्यानाकर्षण भएको जनाएको छ । बैठकले दुवै विषयमा ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव समेत पारित गरेको प्रचार विभाग प्रमुख भट्टले बताए ।
पूर्व सचिव भीम उपाध्यायले केही समय अगाडि लेखराज भट्टले एमाले छाडेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए तर पछि उनले गल्ती भएको भन्दै माफी मागेका थिए । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध शुक्रबार धनगढी विमानस्थलमा भीम रावल समर्थकले नाराबाजी गरेका थिए ।