Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

स्थानीय तहमा कृषि एम्बुलेन्स

किसानको घरबारीसम्म पुगेर कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउन जैमिनी नगरपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । सरकार र नगरको साझेदारीमा एम्बुलेन्स खरिदको तयारी गरिएको जनाइएको छ ।

‘कृषि एम्बुलेन्स’ खरिद प्रक्रिया अन्तिम चरणमा रहेको नगरका उपप्रमुख हरिहर शर्माले बताए । संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको रु। २५ लाख अनुदान र जैमिनी नगरपालिकाको रु। २५ लाख लगानीमा कृषि एम्बुलेन्स गर्न लागिएको हो । 


स्थानीय बजार साँघुरो रहेको र टाढाको ठूलो बजारसम्म कृषिजन्य उत्पादन पुर्‍याउन किसान आफैँलाई ढुवानीमा कठिन हुने भएकाले नगरले कृषि एम्बुलेन्सको अवधारणा ल्याएको हो । नगरको योजनालाई सरकारले महत्त्व दिएरै साझेदारी गरेको कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले बताए । देशभरका इच्छुक स्थानीय तहसँग साझेदारी गरेर किसानलाई हित हुने गरी ‘कृषि एम्बुलेन्स’ सञ्चालनको योजना बनाइने उनले बताए ।

स्थानीय तहमा उत्पादित तरकारी, अदुवा, बेसार, फलफूल, रैथाने बाली, माछा, मह, मासु, दही, छुर्पीलगायत उप  कृषि एम्बुलेन्समार्फत गरी बजार पुर्‍याउने नगरको लक्ष्य रहेको शर्मा बताउँछन् ।

“समूह वा फार्ममा आबद्ध किसानले उत्पादन गरेका फसल बजारसम्म लैजाने काम कृषि एम्बुलेन्सले गर्छ”, शर्मा भन्छन्, “सञ्चालन कार्यविधि तयार गरेर किसानलाई फाइदा पुग्ने गरी नगरभर एम्बुलेन्स परिचालन हुनेछ ।” नगरले एम्बुलेन्स सञ्चालनसँगै किसानलाई उत्पादन बढाउनका लागि पनि प्रोत्साहन गर्ने योजना बनाएको छ । बजारको अभावमा किसानको उत्पादन खेर जान नदिने र किसानलाई व्यावसायिक बनाउन नगरले एम्बुलेन्सको योजना ल्याएको शर्माले बताए ।

बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘कृषि एम्बुलेन्स’ सञ्चालनको घोषणा गरेको छ । कृषिजन्य उत्पादन बढाउने, बाँझो जग्गाको उपयोग गर्ने नीतिअनुसार कृषि एम्बुलेन्स सञ्चालनको घोषणा गरेको नगरले प्रक्रिया भने थालेको छैन ।

“हामी सरकारको कार्यक्रम पर्खिरहेका छौँ, अहिले नै हाम्रो बजेटले मात्रै एम्बुलेन्स सञ्चालन सम्भव छैन”, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “पहिले तरकारी मण्डी सञ्चालनको तयारीमा छौँ, त्यसपछि मात्रै किसानको तरकारी उठाउने एम्बुलेन्स ल्याउँछौँ ।” नगरपालिकाले मण्डी सञ्चालनका लागि वडा नं ४ को उपल्ला चौरमा जग्गा भाडामा लिइसकेको छ । थप बजार क्षेत्रमा जग्गाको व्यवस्थापनको तयारीमै रहेको श्रेष्ठले जानकारी दिए ।