Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सन्तोष परियारको दावीः ८४ को चुनावमा रास्वपाले कम्तीमा १५० सिट जित्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आउँदो २०८४ सालको चुनावमा पार्टीले कम्तीमा १५० सिट जित्ने दाबी गरेका छन् ।


आज शनिबार चाँगुनारायण नगर समिति वडा नं–५ को प्रथम ऐतिहासिक वडा अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित परियारले रास्वपालाई जनताले आशा र भरोसा राखेको पार्टीको रूपमा चित्रण गरेका छन् । उनले समावेशी र समतामूलक समाज निर्माणमा रास्वपाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले मुलुकमा समावेशिताको अभावका कारण नै प्रगतिशील समाज निर्माणमा अवरोध भइरहेको बताउँदै रास्वपाको विचार र सिद्धान्त जनताले स्वीकारेमा अन्य कुनै पनि दल ठूलो पार्टी बन्न नसक्ने दाबी गरे ।

अधिवेशनले राजु भण्डारी क्षेत्रीको नेतृत्वमा ९ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको छ। समितिमा ज्योति लामिछाने उपाध्यक्ष, निपेश भण्डारी सचिव, र ज्ञानकिशोर केसी, सुजिता भण्डारी ९बुढाथोकी०, तारा कम्मर, पूजा भण्डारी, रामप्रसाद हाकजु र सरोज नेपाली सदस्यका रूपमा निर्वाचित भएका छन् ।

यस्तै, चाँगुनारायण वडा नं–४ मा पनि वडा अधिवेशन सम्पन्न भएको छ। यस वडामा केशव खनालको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । समितिमा कृष्ण मगर उपाध्यक्ष, नवराज न्यौपाने सचिव र गोविन्द तामाङ, भुवन बजागाईं, रत्नलाल भडेल, गंगा केसी, लक्ष्मी देवकोटा खनाल र जुना खनाल सदस्य रहेका छन् । पार्टीको सदस्यताको आधारमा चाँगुनारायण नगरपालिका वडा नं–५ रास्वपाको सबैभन्दा बलियो आधार रहेको वडा मानिएको छ । नगर सभापति रोशन थापा पनि यही वडाका बासिन्दा हुन्।