Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अनुशासन आयोग प्रमुखप्रति मुकुलको आरोपः घरबेटी बा, रास्वपाका ‘भाइरस’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निष्काशित पूर्व महामन्त्री मुकुल ढकालले पार्टीभित्र ‘भाइरस’ सक्रिय रहेको दाबी गर्दै अनुशासन आयोगका संयोजक भरतमणि देवकोटामाथि संगीन आरोप लगाएका छन्। ढकालले फेसबुकमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा देवकोटाले व्यक्तिगत स्वार्थका लागि पार्टीलाई दबाब दिएको र राजदूत पद नपाएपछि पार्टीविरुद्ध दुषित राजनीति थालेको आरोप लगाएका छन् ।

‘पार्टीलाई ऋणमा डुबाएर एकपक्षीय निर्णय गराउँदै हिँड्ने देवकोटाको योजना असफल हुनेछ । घरबेटी बा, तपाईंको दुषित राजनीति सफल हुन दिने छैनौँ,’ उनले लेखेका छन् । ढकालले देवकोटालाई आफ्नो सिफारिसमा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालय प्रमुख बनाइएको तर पछि उनले अनुशासन आयोगको जिम्मेवारीलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरेको आरोप लगाए ।

उनले लेखेका छन्, ‘राजदूत भागबण्डामा आफूलाई समेट्न अड्डी कसेर पार्टीलाई दबाब दिए । राजदूत नपाएपछि ममाथि मिडियामा आरोप लगाउँदै पार्टीलाई बदनाम गर्न खोजे ।’ ढकालले देवकोटामाथि पार्टीलाई आर्थिक समस्यामा धकेल्दै ऋण देखाएर एकपक्षीय निर्णय गरिरहेको आरोप लगाएका छन् । ‘पार्टी कार्यालयको घरबेटी भएर पार्टीलाई ऋण थुपार्दै दुषित राजनीति गरिरहेका छन्,’ उनले भनेका छन् ।

ढकालले पार्टीका सदस्यहरूले समेत अनुशासन आयोगप्रतिको असन्तुष्टि व्यक्त गरेको उल्लेख गरेका छन् । ‘समीक्षा यात्राका क्रममा साथीहरूले अनुशासन आयोगमार्फत पार्टीमा गलत राजनीति भइरहेको गुनासो गरे । मैले ती गुनासोलाई प्रतिवेदनमा समेटेको छु,’ उनले लेखेका छन् ।