Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सांसद अवकाशको उमेर हद कानुनमै लेखिनुपर्छः डा. तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले सांसद अवकाश हुने उमेर हद कानुनमै तोक्नु पर्ने बताएकी छन् । ८० वर्षको उमेरमा पनि सांसद पदमा नेताहरू रहिरहेकाले कानुन निर्माणदेखि जनताको प्रतिनिधित्वसम्म खस्किँदै गएको बताउँदै उनले सांसदको अधिकतम उमेर संविधान र कानुनमा तोक्नुपर्ने बताइन् ।

संसदीय मामिला पत्रकार समाजले शुक्रबार आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहस कार्यक्रममा सांसद कार्कीले मान्छेको शारीरिक अवस्थालाई पनि ख्याल गरेर अवकाशको उमेर कानुनमा राख्नुपर्ने बताइन्।

‘संविधानमा सांसदको योग्यताको विषय उल्लेख छ । २५ वर्ष उमेर पूरा भएको मान्छे सांसदको उमेदवार हुनसक्ने भन्ने छ । तर, ऊ कति वर्षसम्म सांसद हुन पाउने भन्ने कुरा लेखिनु पर्दैन? एउटा मान्छे कति पटक सांसद हुने, कति वर्षसम्म भइरहने हो ?।’ उनले भनिन्, ‘हाम्रो कानुनले व्यवस्था गरेको छैन, यो कानुनमै लेखिनु पर्छ जस्तो लाग्छ ।’

त्यस्तै, सांसद कार्कीले निर्वाचन प्रणालीमा सुधारको बहससँगै शासकीय प्रणालीको विषयमा पनि छलफल गर्नुपर्ने बताइन् । ‘संविधान संशोधनको कुरा चलिरहेको छ । अब निर्वाचन प्रणाली सुधारको बहससँगै शासकीय प्रणाली सुधारको बहस पनि सँगसँगै लैजानुपर्छ,’ उनले थपिन्, ‘’हाम्रो पार्टीले पनि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनिरहेको छ । प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री भनिरहेको छ ।’