Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

माधव नेपाल बाहेक अरु सबै नेतालाई एमालेको ढोका खुला छः शंकर पोखरेल

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेको ढोका खुला रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले माधव नेपालले एमाले फुटाएर ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताएका हुन् ।


नेपालले एमालेबाट अलग्गिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको समेत उनले उल्लेख गरे । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारे । एमालेभित्र लामो जीवन बिताएका र योगदान गरेका नेता–कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अल्मलिन नहुने उनको तर्क छ । सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको जिकिर गरे ।

महासचिव पोखरेलले देशका पक्षमा उभिएको कारण केपी ओलीमाथि आक्रमण भएको र ओलीमाथिको आक्रमण मुलुकमाथिको आक्रमण भएको तर्क गरे। कार्यक्रममा एकीकृत समाजवादीको जनवर्गीय संगठन समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, महासचिव रामकुमार एलन, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारीलगायत केही केन्द्रीय सदस्यहरू प्रेस चौतारीमा फर्किएका थिए ।