कानुन निर्माणबारे प्रमुख चार राजनीतिक दलका सचेतकहरु छलफलमा जुटेका छन् । आज शुक्रबार नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूबीच छलफल भएको हो ।
छलफलमा चारै दलका मुख्य सचेतक र प्रमुख सचेतकहरू सहभागी थिए । ‘संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने विषय’ मा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘कन्टेन र विधेयक अगाडि बढाउने प्रक्रियामा एक ठाउँमा उभिएर प्रभावकारी संयोजन गरेर जाने निष्कर्ष निस्किएको छ,’ बर्तौलाले सुनाए । हाउसमै र संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि चार दलका नेताहरूबीच छलफल भएको छ ।
‘५-६ वर्षसम्म विधेयक सदनमा रहने अवस्था तोड्न पहल लिने र यसका लागि प्रतिनिधिसभा नियमावलीमा आकश्यक प्रबन्ध गर्ने विषयमा छलफल भएको छ,’ उनले भने । दलहरूले कानुन निर्माणमा समयसीमा राख्ने विषयमा समेत छलफल गर्दै आएका छन् । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका मुख्य सचेतक बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार उपस्थित भएका छन् ।