Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सिक्टामा भ्रष्टाचारः पूर्वमन्त्री पाण्डेलाई सर्वोच्चमा झिकाइयो

सिक्टा सिँचाइ आयोजनाको भ्रष्टाचारमा माटोलाई दोष दिएर ठेकेदारलाई उन्मुक्ति दिने गरी विशेष अदालतको फैसलामा सर्वोच्चले पुनर्विचार गर्ने भएको छ । पूर्वमन्त्री समेत रहेका राप्रपा नेता एवं ठेकेदार विक्रम पाण्डे जोडिएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले विपक्षी झिकाउन आदेश दिएको हो । 

आज बिहीबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ, सुनिल कुमार पोखरेलको संयुक्त इजलासले सिक्टा सिँचाइ आयोजनाको गुणस्तरहीन निर्माण कार्य गरी भ्रष्टाचार गरेको मुद्दामा विपक्षी झिकाउन आदेश दिएको हो ।

अध्ययन प्रतिवेदनका अनुसार ठेक्का सम्झौता नगरिएको, निर्माण हुनासाथ गरिएको अध्ययनबाट नहरको संरचना चर्केको, टर्फिन उप्केको जस्ता त्रुटिपूर्ण निर्माण भएको देखिएका भन्दै रिट दायर भएको थियो । त्यसले सरकारलाई हानी नोक्सानी पुर्‍याउने कार्य भएकोमा प्रतिवादीहरूले आरोपित कसुरबाट सफाइ पाउने ठ्याई विशेष अदालतबाट भएको फैसला प्रमाण मुल्याङ्कनको रोहमा विचारणीय भई फरक पर्न सक्ने देखिँदा प्रतिवादीहरूलाई झिकाउन सर्वोच्चको आदेशमा भनिएको छ ।

बाँकेमा निर्माणका क्रममा रहेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो । अख्तियारले पूर्वमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो । उनी आयोजना निर्माणको ठेक्का लिएको कालिका कन्ट्रक्सन जेभीका सञ्चालक हुन् ।

दुई अर्ब १३ करोड ७६ लाख भ्रष्टाचार भएको भनी चलाइएको मुद्दामा विशेष अदालतले माटो नै कमजोर रहेको भनी अभियोगपत्र खारेज गरिदिएको थियो । २०७९ असार ५ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले भ्रष्टाचार मुद्दाका अभियुक्तको पक्षमा फैसला गरेको थियो । १० वर्षभन्दा धेरै समय र १३ अर्बमाथि रकम खर्चेर निर्माण गरिएको आयोजनामा पानी छाड्ने बित्तिकै भत्किएको थियो ।

bikram-pandey.jpeg