Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अध्यादेश छलफल गरेरै ल्याएको हो, विरोध आवश्यक छैनः गगन थापा

पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्य समीक्षा गर्न बसेको सत्ता साझेदार नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठकमा अध्यादेशबारे चर्चा भएको छ ।

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै चौतर्फी विरोध भइरहँदा बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा आज बिहान बसेको बैठकमा त्यसबारे छलफल भएको हो । विगतमा अध्यादेशको चर्को विरोध गर्ने महामन्त्री गगन थापाले मन्त्रीहरुलाई अध्यादेशलाई सकारात्मक रुपमा लिन आग्रह गरे ।

सरकारले आफूहरुसँग सल्लाहमै अध्यादेश ल्याएकाले विरोध गर्न आवश्यक नरहेको उनको भनाई थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए । सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले विरोध जनाइरहेका छन् । कांग्रेसका इतर पक्षका मात्रै नभई संस्थापन पक्षका नेताहरूले पनि त्यसको विरोध गरिरहेका छन् ।

तर, मन्त्रीहरूको बैठकमा सरकारले ल्याएको अध्यादेशको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने महामन्त्रीले ब्रिफिङ गरेको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । उनले भने, ‘अध्यादेशको विषयमा पनि बैठकमा छलफल भएको छ, छलफल भएरै ल्याएको भएकाले महामन्त्रीज्यू ले पनि पोजेटिभ रूपमा लिनुपर्छ । हामीसँग छलफल नै गरेर ल्याएकाले यसबारे चर्चा परिचर्चा गर्न आवश्यक छैन ।’

मन्त्रीहरुको ६ महिने कार्यकालमा भएका कामको समीक्षा गर्न आयोजित छलफलमा सभापति देउवा, पार्टीका शीर्ष नेताहरु, १० मन्त्री र २ राज्यमन्त्रीको उपस्थिति थियो । आ–आफ्नो मन्त्रालयको कार्य प्रगति विवरण सुनाएका मन्त्रीहरुले सोचे जस्तो काम गर्न नसकेको स्वीकार गरेका छन् ।