Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज बिहीबार दिउँसो हुँदैछ । दीक्षान्तमा सरिक हुन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओली पोखरा जाँदैछन् ।

दीक्षान्त समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्रयाजुएट (चिकित्सा डाक्टर–शल्यचिकित्सा स्नातकोत्तर, एमडी–एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थी दीक्षित हुँदैछन् । आजै प्रतिष्ठानको सिनेटसमेत हुने शाखा अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिए । आज प्रतिष्ठानको भवन उद्घाटन, सिनेट बैठकपछि दीक्षान्त हुने अर्यालले बताए । प्रतिष्ठान परिसरमा बनेको आकस्मिक भवन प्रधानमन्त्रीले उद्घाटन गर्ने छन्।

त्यही भवनका माथिल्ला तलमा एमबिबिएसको अध्यापन गर्ने तयारी रहेको प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साबिक पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना गरिएको हो । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गत वर्ष चार लाख ५५ हजार बिरामीलाई सेवा दिएको थियो । अस्पतालले गण्डकी प्रदेशमै क्यान्सर उपचार सेवासमेत सुरुआत गर्दैछ ।