Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सरकार उल्टो दिशामा छ, सदन फेस गर्ने साहस छैनः प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार उल्टो दिशामा हिंडेको आरोप लगाएका छन् । प्रेस सेन्टर सिन्धुपाल्चोकले सुकुटेमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

सदन सामना गर्ने नैतिक साहस नभएका कारण केपी ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएको उनले बताए । यसले वर्तमान सरकार सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार भएको प्रमाणित भएको जिकिर प्रचण्डले गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने, ‘सरकार उल्टो दिशामा छ । संवैधानिक परिषद्मा बहुमतको प्रयास, सदन बोलाउन सरकारले ढिला गरेर अध्यादेशबाट शासन गर्ने काम गरेको छ । अध्यादेश किन भने ऊसँग सदन फेस गर्ने नैतिक साहस छैन । यसले सरकार कमजोर सबभन्दा कमजोर, निरीह र गैरजिम्मेवार सरकार हो भन्ने पुष्टि हुन्छ । सदन चाँडो बोलाइयोस् ।’ 

उनले सरकारको गन्तव्य राम्रो उद्देश्यले नबनेको भन्ने जनताले बुझिसकेको बताए । उनले आफ्नो पार्टी अहिले सरकार गिराउने खेलमा नरहेको बताए ।