Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रविविरुद्ध सरकारी वकिलको वहसः कास्कीको आदेशलाई यहाँ सन्दर्भ बनाउन हुँदैन, थुनामै राखौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेलाई पुर्पक्षका निम्ति थुनामा पठाउन माग गरिएको छ । आज सोमबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसका क्रममा सरकारी वकिलले लामिछानेलाई त्यसै छाड्न नहुनेमा जोड दिएका छन् । न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी छ ।

सहकारीको रकम दुरुपयोग गरिएको पर्याप्त आधार भएकाले लामिछानेलाई रिहा गर्न नहुने उनीहरूले माग गरेका छन्। ‘।।।संयुक्त खाता छ जीबी राईसँगै । विभिन्न बैंकमा काटेका चेकहरू छन्, पैसा दुरुपयोगका पर्याप्त आधार हुँदाहुँदै छोडिए भने ती सहकारीमा पैसा राख्नेको चाहिँ कसुर भन्नुपर्ने हुन्छ । त्यसकारण उहाँलाई छोड्न मिल्दैन ।’

‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरणलगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुना बाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ,’ इजलासमा सरकारी वकिलले तर्क गरेका छन् । उनीहरूलाई कास्की जिल्ला अदालतको आदेशलाई आधार मानेर रविलाई थुनाबाट छाड्न नहुने पनि बहसका क्रममा बताएका छन् । ‘पोखरामा भएको आदेशलाई यहाँ सन्दर्भ बनाउन हुँदैन,’ सरकारी वकिलले बहसका क्रममा भने, ‘त्यो छुट्टै मुद्दा हो । यो छुट्टै मुद्दा हो ।’

फौजदारी संहित, २०७४ को दफा ६७ अनुसार सहकारी ठगीमा सात र संगठित अपराधमा थप पाँच वर्ष सजाय हुने व्यवस्था छ । त्यसैले लामिछानेलाई छोड्न नहुने सरकारी वकिलको जिकिर छ । ‘थुनामा राखेर पुर्पक्षमा पठाएर पछि ठहरे बमोजिम आदेश हुने हुनुपर्छ’, सरकारी वकिलले भनेका छन् । सरकारी वकिलका तर्फबाट चिया समयअघिसम्म पाँच जनाले बहस गरेका छन् । सरकारी वकिलका तर्फबाट खडिन्द्रराज कटवाल, प्रेम सन्जेल, सन्तोषराज कटवाल, विना खड्का र राधिका सुवालको बहस सकिएको हो ।

थुनछेक बहसका निम्ति सरकारी वकिलका तर्फबाट ११ जनाले वकालतनामा टिपाएका छन् । वकालतनामा लेखाएका ६ जनाको बहस बाँकी छ । जाहेरवालाका तर्फबाट पनि बहस बाँकी नै छ । त्यसपछि मात्र लामिछानेका वकिलको पालो आउनेछ । रास्वपा सांसद सोविता गौतमका अनुसार, लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ताद्वय सुशीलकुमार पन्त र रमन श्रेष्ठले बहस गर्नेछन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ । पुस २५ गते कास्की जिल्ला अदालतले लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । धरौटी रकम बुझाएर सोही दिन उनी थुनामुक्त भएका थिए।