Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई फेरि पठाइयो हिरासत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा आज आइतबार बयान भए पनि थुनछेक बहस नभएकाले उनलाई हिरासतमा पठाइएको हो । लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिने प्रहरीले जनाएको छ । प्रहरीले नै सोमबार लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ ।


जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो ।

लामिछाने आइतबार आफै अदालत हाजिर भएका थिए । आइतबार बयान सके पनि सरकारी वकिलले समय माग गरेपछि थुनछेक बहस भएन । लामिछानेले आफू अदालत हाजिर भएकाले परिवारको जिम्मा लगाउन आग्रह गरेका थिए । उनका वकिलहरूले पनि वकिल वा परिवारको जिम्मामा छाड्न भनेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउने आदेश दिएका छन् । रास्वपा सभापति लामिछानेलाई सूर्यदर्शन सहकारी पोखराको मुद्दामा जिल्ला अदालत कास्कीले यसअघि ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।