राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ । अधिकारीकै इजलासमा लामिछानेको बयान सुरु भएको हो । बयानका लागि उनी बिहान ९ बजे नै अदालमा उपस्थित भएका थिए ।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएपछि पुस २६ गते साँझ काठमाडौँ आइपुगेका रवि भोलिपल्ट बिहानै काठमाडौँ जिल्ला अदालत हाजिर भएका हुन् । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा पनि मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको बयानका लागि लामिछाने आज अदालत हाजिर भएका छन् । स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ ।
सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो मागदाबी गरेर मुद्दा दायर गरेको हो । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।