Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अदालतमा धरौटी बुझाए पनि रवि लामिछाने तत्काल नछुट्ने

अदालतले धरौटीमा छाड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने तत्काल नछुट्ने भएका छन् । लामिछानेले कास्की जिल्ला अदालतमा धरौटी बुझाए लगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । आज (बिहीबार) कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।


कास्की बाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा काठमाडौं अदालतमा पुगेको छ ।काठमाडौं प्रहरीले कास्कीको प्रक्रिया पूरा हुनासाथ हस्तान्तरण गर्न भन्दै पत्र लेखेकाले कास्कीमा धरौटी बुझाए लगत्तै लामिछानेलाई काठमाडौं ल्याइनेछ । रविसँगै यसै प्रकरणमा हिरासतमा रहेका छविलाल बन्जाडे र रामबहादुर खनाललाई पनि अन्य जिल्लामा मुद्दा चलाउन लैजानुपर्ने कारण खोली प्रहरीले आफ्ना कर्मचारीलाई जिम्मा दिन माग गरेको छ ।

अभियोगपत्रमा लेखिएको छ, ‘पक्राउ परी हिरासतमा रहेका निम्न प्रतिवादीहरू उपर निम्न प्रहरी कार्यालयमा जाहेरी दर्ता भई अनुसन्धानपश्चात् सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयमार्फत सम्मानित अदालतमा अभियोगपत्र दर्ता हुने चरणमा रहेको हुँदा निज प्रतिवादीहरू प्रस्तुत कसुरमा छुटी जाने भएमा सम्मानित अदालतहरूमा उपस्थित गराउने प्रयोजनार्थ निज प्रतिवादीहरूलाई प्रहरी कर्मचारी हस्ते जिम्मा लगाई पठाइदिने व्यवस्था हुन अनुरोध छ ।’