Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सबै माओवादी एक ठाउँ बसेर जनयुद्ध दिवस मनायौँः विप्लव

जनयुद्वको विषयमा चौतर्फी चर्चा भईरहेको बेला नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सबै माओवादीहरु एक ठाँउमा बसेर जनयुद्ध दिवस मनाउनु पर्ने बताएका छन् । जनयुद्धको रक्षाका लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न बाँकी रहेको उनको भनाई छ ।


पार्टीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी आईपुगेका माहासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल ‘प्रचण्ड’ ले केन्द्रिय कमिटी बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाएका छन् ।

दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको बताउँदै एकले अर्कोलाई आरोप लगाउने बाहेक केही पनि नरहेको उनको भनाई छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफू नरम नै भएको बताउँदै केन्द्रिय समितिको वैठकमा माओवादी केन्द्रले बनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे ।

‘हामी सधैभरी तयार छौँ, तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ महासचिव चन्दले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो ।’ यो देशको समृद्वि उत्पादनबाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने महासचिव विप्लबको जोड छ । उनले आफ्नो पार्टी अहिले उत्पादनबाट नै आत्मनिर्भर भईसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने बिस्वास व्यक्त गरेका छन् ।