Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि जोडिएको मुद्दामा आज थुनछेक आदेशको सम्भावना, सुरक्षा व्यवस्था कडा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज बिहीबारसम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ । प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो ।

सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्म अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरिएको जानकारी दिएकी छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।

प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।

मंगलबार मात्रै प्रतिवादीमध्ये गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्षका कानून व्यवसायीले बहस सकेका थिए । बुधबार प्रतिवादीहरू रामबहादुर खनाल, कृष्ण गुरुङ, मीना गुरुङ र आरती गुरुङका कानून व्यवसायीले बहस गरेका हुन् । साथै, जाहेरवालाका तर्फबाट पनि बहस हुँदैछ ।

थुनछेकको आदेश नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय कास्कीले राष्ट्र बैंक चोक, वाई चोक र शहीद चोक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । त्यहाँ सवारी आवागमनमा समेत रोक लगाइएको छ । कान्छा न्यायाधीश नितिज राईको इजलासमा भइरहेको बहस सकिएपछि थुनछेक आदेश आउने छ । थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नसक्छ ।

पुर्पक्षका लागि कारागार पठाउने आदेश भएमा रवि आज नै जेल चलान हुनेछन् भने अन्य आदेशमा बाहिरै बसेर मुद्दा लड्न सक्ने छन् । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय रुपैयाँ ९४ पैसा बिगो माग दाबीसहित जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । प्रतिवादीमध्ये रविविरुद्ध मात्रै सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाख बिगो माग दाबी गरिएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको बिगो माग दाबी गरिएको छ । अर्का प्रतिवादी छविलाल जोशीविरुद्ध सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको थियो ।