Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

परराष्ट्रमन्त्रीद्वारा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपालका लागि इजरायलका राजदूत  समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेकी छन्  ।

परराष्ट्रमन्त्री डा.राणासँग बुधबार मन्त्रालयमा शिष्टाचार भेटका क्रममा राजदूत बाससँग उनले विपिनको अवस्था बारे जानकारी लिँदै हमासको नियन्त्रणबाट मुक्त गराउन पहल गर्न इजरायल सरकारसँग आग्रह गरेकी हुन्  ।

हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये ३४ जनालाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएकाले जोशीको रिहाइलाई विशेष प्राथमिकतामा राख्न मन्त्री डा.राणाले राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी थिइन् ।

सो भेटका क्रममा राजदूत बासले हमासको नियन्त्रणमा रहेका वृद्धवृद्धा, महिला तथा बालबालिकासमेतका नाजुक स्वास्थ्यवस्थामा रहेका नागरिकहरुको रिहाइका लागि इजरायल सरकारले केही महिनाअघि हमासलाई सूची पठाएको र पहिलो चरणमा उनीहरूलाई नियन्त्रणमुक्त गर्ने तयारी रहेको भन्ने सूचना आएको जानकारी दिए ।

सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजार बढी व्यक्तिको हत्या गरेको थियो ।

त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरेकोमा विपिन जोशी पनि छन् । विपिनको रिहाइका लागि नेपाल सरकारले आफ्ना कूटनीतिक प्रयास जारी राखेको छ ।