Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु

अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ। नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो।

डेली मेलका अनुसार, दाहालको मृत्यु हुनुभन्दा दुई घन्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको इमर्जेनसी सर्भिस नम्बर ००० मा फोन आएको थियो। त्यसबेला पृष्ठभूमिमा ‘ठूलो आवाजसहित भनाभन भएको’ सुनिएको थियो। ‘यद्यपि, त्यो कलमा कुनै कुराकानी हुन सकेन, ‘त्रिपल ०’ बाट थप दुई पटक कल गर्दा पनि सम्पर्क भएको थिएन’, अनुसन्धानमा संलग्न ब्यारी विन्सेन्टले भनेका छन्।

जतिबेला पारामाट्टा प्रहरीले दाहालका पति ४० वर्षीय रविन्द्र सुवेदीसँग सम्पर्क गरे, त्यतिञ्जेलमा प्रहरीलाई घटनाबारे सूचनासमेत आइसकेको थियो। प्रहरीले यो घटनामा प्रारम्भिक अनुसन्धानका लागि सुवेदीलाई पक्राउ गरेको थियो । उनीसँग सोधपुछ र प्रारम्भिक जाँच गरेपछि तत्काल थप प्रमाण केही नदेखिएको भन्दै छाडेको थियो।

दाहाल अष्ट्रेलियामा नर्सका रुपमा काम गर्दै आएकी थिइन्। उनीहरुले केही वर्षअघि मात्र विवाह गरेका थिए। तर, उनीहरुबीच आन्तरिक झगडा यसअघि प्रहरीसम्म समेत पुगिसकेको ७न्यूजले उल्लेख गरेको छ।

पछिल्लो समय उनीहरु सँगै बस्न छाडेका थिए। प्रहरीले सीसी टीभी लगायतका प्राविधिक पक्षको जाँच गरेर अनुसन्धान गरिरहेको छ।