प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई छिट्टै पार्टीबाट निकाल्दिने चेतावनी दिएका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै मंगलबार ओलीले पाण्डे र तिम्सेना बढी चम्किएको (पार्टीविरुद्ध बाेलेकाे) भन्दै अर्को बैठकमा पार्टीबाट निकाल्दिने बताएका हुन्। पुस १० गते एमालेले पाण्डे र तिम्सेनालाई ६ महिनाका लागि र भीम रावललाई सधैंका लागि पार्टीबाट निष्कासन गरेकाे थियाे।
पार्टीबाट निष्कासित भएपछि उनीहरूले आफूहरूलाई पार्टीले नभइ केपी ओलीकाे तानाशाही तरिकाले पार्टीबाट निकालेकाे आरोप लगाउँदै आएका छन्। तीन दिन चलेको केन्द्रीय कमिटी बैठकमा पनि उनीहरूलाई पार्टीबाट निष्कासन गरिएकोप्रति केही सदस्यले ओलीको विराेध गरेका थिए। यसरी विराेध गर्नेमा आफ्नै पक्षका नेताहरूसमेत देखिएपछि ओली थप आक्राेशित भएका छन्। ‘विन्दा र उषाकाे प्रतिक्रिया हेर्दा ६ महिना पनि पर्खिन, थामिन सकिन्छ जस्तो लाग्दैन’, ओलीले बैठकमा भने ‘अर्काे बैठकमै पार्टीबाट बिदाकाे निर्णय हुन सक्छ। चम्केर बाेल्ने?’ ओलीले बैठकमा भनेका थिए ।
उता स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनाले मीनबहादुर गुरुङबाट जग्गा लिनुभन्दा पहिलेबाटै पार्टीविरुद्ध सार्वजनिक रुपमा कयौँ पटक बोलेको प्रमाणबारे ओलीले बताएका थिए । ‘दुईजना महिला नेतृका सन्दर्भमा मीनबहादुर गुरुङले जग्गा दिएको प्रसंग संयोग मात्रै थियो’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ओलीको भनाइबारे भने, ‘दुवैजनाले त्यसअघि पनि पटक पटक पार्टी निर्णयबारे सार्वजनिक रुपमा बोलेका थिए । उनीहरूले पार्टी निर्णय र नेतृत्वविरुद्ध सडकमा गएर बोलेको धेरै पटक भइसकेको थियो ।’