Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सिरहाको उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेपछि...

सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छन्। 

कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिकाको बा. २ झ ३६४३ नम्बरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन्। उपाध्यक्ष सिंहले पालिकाको स्कोरपीयोलाई  इँटा र ढुङ्गाले हानेर झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएको चालक बाबुनाथ यादवले बताए।   

उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन्। अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्यक्ष आक्रोशित हुँदै आएको एक कर्मचारीले बताए। आज पनि उपाध्यक्षले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको बताइएको छ।  

गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले भने उपाध्यक्षले ९ बजे नै गाडी बोलाएको र चालक जान ढिला हुँदा गाडी रोकिएकै ठाउँमा आएर तोडफोड गरेको बताए। उपाध्यक्षलाई सुविधा दिँदै आएपनि बखेडा मात्रै झिक्ने काम भएको उनको भनाइ छ ।  तर, आफूले उनलाई गाडी दिन आनाकानी गरेको विषय साँचो नभएको उनको दाबी छ। 

यस विषयमा उपाध्यक्ष सिंहसँग थप बुझ्न सम्पर्क गर्दा उनको मोबाइल नम्बर भने स्वीच अफ छ।