Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैनः गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्तिले गरेको अपराधको भारी पार्टीले नबोक्ने बताएका छन् । पार्टीको गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले कांग्रेसमा रहेका जोसुकै भए पनि सहकारी ठगी संलग्न होस् वा मान्छेलाई बेचबिखनमा दोषी देखिए कारबाही हुने बताए।

उनले भने, ‘हामी पार्टी शुद्धीकरणको प्रक्रियामा लाग्नुपर्छ । अब हामी गाली खाएर बस्ने होइन । आफ्नै पार्टीभित्र पनि कुरा उठाऔं, जहाँ कानून बनाउने हो, त्यसमा पनि कुरा उठाऔं । निर्दोष कोही पनि पर्नु हुन्न, दोषी जो भए पनि उम्कनु हुन्न ।’ थापाले चर्चामा रहेका ४० बढी भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनु पर्ने बताएका छन् ।

उनले भने, ‘मैले प्रचण्डजीकै अगाडि भनेको हो । सरकार सँगै बसेको हुन्छ, यस्तो मायाप्रेम देखिन्छ, गिरीबन्धु, क्यान्टोनमेन्टलगायत जेसुकै हो । सबैको छानबिन गर्नुपर्छ ।’ महामन्त्री थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने बताएका छन् । उनले संविधान संशोधन गर्दा गणतन्त्र, संघीयता, समावेशिता नचलाउने बताए ।

उनले भने, ‘अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नु पर्ने अवस्था छ । आज मन्त्री भइरहेकाले भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ । सुरुमा अहिले सबैको भाषणा यो सरकार बदलिँदैनबाट सुरु हुन्छ । बाहिर देशहरुमा पनि गठबन्धनको सरकार नहुने होइन । त्यसमा पनि एउटा संस्कार र संस्कृति हुन्छ । त्यो हाम्रो स्वभावसँग मिलेन । त्यसैले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ, त्यसले सरकार चलाउँछ । हामीलाई समावेशिता पनि चाहिएको छ । त्यसैले संविधान संशोधन गर्दा निर्वाचन प्रणालीमा काम गर्छौं ।’ उनले संघीयता कसैले नबोकाइदिएको भन्दै प्रदेश सरकार कायमै राख्ने बताए । उनले प्रदेश र स्थानीय सरकारलाई धारिलो बनाउने गरी २०८४ सम्ममा सरकारले कानून बनाउने बताए ।